जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
हिजो दिउँसोदेखि परेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको हो। उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको टोली परिचालन गरिएको छ।
पहिरोबाट भाग्ने क्रममा ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी जारी छ।
घाइतेमध्ये केहीलाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत रिफर गरिएको छ भने अन्यको जाजरकोटमै उपचार भइरहेको छ।
पहिरोले भेरी नगरपालिका–३ स्यालामा पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना आफन्तको घरमा आश्रय लिएका छन्। दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।